काठमाडौं- नेपाल राष्ट्र बैंकले कोभिड महामारीले समास्या ग्रस्त भएको आर्थिक क्षेत्र उठाउनका लागि पुनर्कर्जाको कार्यविधि जारी गरेको छ।
राष्ट्र बैंकले जारी गरेको कार्यविधिमा पाँच अयोग्य क्षेत्र पनि तोकेको छ। पुनर्कर्जाका लागि अयोग्य क्षेत्र भन्दै राष्ट्र बैंकले व्यक्तिगत कर्जादेखि सुनकर्जासम्मलाई यो सूचीमा राखेको छ। तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा योग्य मानिने कार्यविधिमा उल्लेख छ।
यी हुन् अयोग्य क्षेत्र
(१) कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू।
(२) ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरू।
(३) पछिल्लो आर्थिक वर्षको रिटर्न अन इक्युलिटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरू।
(४) चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग/व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायलाई प्रवाह भएका कर्जाहरू।
(५) बैंकले समय समयमा तोकेका अन्य कर्जाहरू।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।