काठमाडौं- राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि जारी गरेको छ। कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप श्रोत आवश्यक पर्ने भएकोले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कूल श्रोत रकमको अधिकतम ४.१२ गुणासम्म दिइने राष्ट्र बैंकले जनाएको छ। २ खर्व १२ अर्ब ८८ करोड ननाघ्ने गरि बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ। राष्ट्र बैंकले पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको श्रोत समेत तोकेको छ।
बैंकमा विद्यमान रहेको विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैंकका अन्य कोषको रकम, दातृ निकायबाट प्राप्त भई सरकारबाट स्वीकृति प्रदान भएका रकम र सरकारले प्रदान गरेको रकम हुने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ।
बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ।
यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरु, ब्रोडवेण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनर्कर्जाहरू पर्ने कार्यविधिमा उल्लेख छ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ। यस्तो कर्जा नवीकरण नहुने राष्ट्र बैंकले जनाएको छ। ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा भने निश्चित क्षेत्र राष्ट्र बैंकले तोकेको छ। राष्ट्र बैंकले तोकेको क्षेत्रहरुमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजना रहेका छन्।
यस्तै, सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष हुने कार्यविधिमा उल्लेख छ। त्यस्तै, मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीका लागि ६ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। पुनर्कर्जा सुविधाको सीमा पनि कार्यविधिमा तोकिएको छ। बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड हुने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ। यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कूल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ।
बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुने कार्यविधिमा उल्लेख छ। तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ।
यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कूल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ।
बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई प्रदान गरिने पुनर्कर्जा रकम कूल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ। तर, बुँदा नम्बर १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनर्कर्जाको माग, आवश्यकता र औचित्यताको आधारमा हेरफेर गर्न सक्ने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ।
यस्तो छ कार्यविधि :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।