काठमाडौं– असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकको अप्टिकल फाइबर तथा अन्य उपकरण हटाउने चेतावनी नेपाल विद्युत प्राधिकरणले दिएको छ। प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै असोज १५ भित्र नियमअनुसार सम्झौता नगर्ने इन्टरनेट सेवाप्रदायकको तार लगायत उपकरण हटाउने चेतावनी दिएको हो।
प्राधिकरणको विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवाप्रदायक संस्था नै हुने सूचनामा उल्लेख छ।
प्राधिकरणले नयाँ भाडादर अनुसार सम्झौता गर्न अनुरोध गरेको हो। यस्तै, नवीकरण गर्न एवं बाँकी रहेको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
इन्टरनेट सेवाप्रदायक तथा केबल टेलिभिजन कम्पनी भने बढेको पोलभाडालाई लिएर आन्दोलनको तयारी गरिरहेका छन्। केबल टिभी महासंघले प्राधिकरण विरुद्ध आगामी १३ गत राष्ट्रिय भेला समेत बोलाइसकेको छ।
पोलभाडा विवादकै कारण गत हप्ता इन्टरनेट सेवाप्रदायकले ३०० प्रतिशतसम्म इन्टरनेट शुल्क बढाउने निर्णय दूरसञ्चार प्राधिकरणलाई पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।