काठमाडौं- एसियाली विकास बैंक (एडीबी)ले नेपालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने प्रक्षेपण गरेको छ। एडीबीद्वारा बुधबार प्रकाशित 'एडीबी आउलुक-२०२१' मा सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको छ। यो वर्ष २०२१ मा २.३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको हो।
तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो। एडीबीले गत अप्रिलमा यो वर्ष ३.१ प्रतिशत र आगामी वर्ष (२०२२) ५.१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।
'हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,' एडीबीको नेपाल निर्देशक अरनौड काउचोइसले भने, 'कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरुका कारणले २०२१ मा क्रमिक आर्थिक सुधारलाई उल्ट्याउनसक्छ।'
प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषि क्षेत्रमा वृद्धि हुने सम्भावना छ। उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्धि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ।
स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरु र प्रभावित व्यवसायहरुका लागि सहुलियत प्रदान गरिएकोले अर्थतन्त्र सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ। थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरुका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरु बढेका कारण आर्थिक वृद्धिमा सहयोग पुग्ने औंल्याइएको छ।
'ट्रेकिङ रुट र आरोहण खुलेसँगै विदेशी पर्यटक आगमन बढ्नसक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो। यद्यपि, होटल, रेस्टुरेन्ट, यात्रा र पर्यटन कोभिड-१९ महामरीको पूर्वअवस्थामा फर्कन केही समय लाग्नेछ,' प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा २०२२ मा मूल्यवृद्धि ५.२ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३.६ प्रतिशत अनुमान गरिएको थियो। विश्वव्यापी तेलको उच्च मूल्यवृद्धि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्यवृद्धि बढ्नसक्ने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।