लखनउ– अखिल भारतीय अखडा परिषद्का अध्यक्ष तथा निरन्जनी अखडाका सचिव महन्त नरेन्द्र गिरिको शंकास्पद मृत्युको विषयलाई लिएर प्रहरीले उनकै एकजना शिष्य आनन्द गिरिलाई पक्राउ गरेको छ। पक्राउ परेका आनन्द गिरिविरुद्ध प्रथम सूचना रिपोर्ट (एफआईआर) समेत दर्ज गरिएको जनाइएको छ।
गिरिको मृत्युको मामिलामा प्रहरीले अरु केही व्यक्तिलाई पनि हिरासतमा लिएको जनाइएको छ।
७० वर्षीय गिरिको सोमाबर भारतीय शहर प्रयागराजस्थित बाघम्बरी मठमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक जाँचबाट प्राप्त संकेतअनुसार प्रहरीले गिरिले आत्महत्या गरेको देखिएको बताएको छ। तर, शव फेला परेको ठाउँमा भेटिएको 'सुसाइड नोट'ले गिरिको मृत्युसँग अन्य कारण पनि जोडिएको हुनसक्ने देखिएको प्रहरी अधिकारीहरुको भनाइ छ।
नरेन्द्र गिरिको सुसाइड नोटमा आनन्द गिरिबारे उल्लेख गरिएको जनाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एउटा भिडियोलाई देखाएर नरेन्द्र गिरिलाई ब्ल्याकमेल गर्ने गरिएको थियो।
नरेन्द्रको सुसाइड नोटमा आनन्द गिरिको नाम उल्लेख भएको भेटिएपछि बाघम्बरी मठका सन्तले उनीविरुद्ध प्रहरीमा एफआईआर दर्ता गराएका थिए। बाघम्बरी मठसँग सम्बन्धित विराट हनुमान मन्दिरका व्यवस्थापक तथा नरेन्द्र गिरिका शिष्य रहेका अमर गिरिले आनन्द गिरिविरुद्ध प्रयागराजको जर्जटाउन प्रहरी चौकीमा एफआईआर दर्ता गराएका हुन्।
अमर गिरिले दर्ता गराएको एफआईआरमा आनन्द गिरिका कारण नरेन्द्र गिरि केही दिनदेखि तनावमा रहेका दाबी गरिएको छ। आनन्द गिरिले दिएको तनावकै कारण नरेन्द्रले आत्महत्या गरेको पनि एफआईआरमा दाबी गरिएको छ।
प्रहरीले आनन्द गिरिसहित विराट हनुमान मन्दिरका मुख्य पूजारी आद्या तिवारी र उनका छोरा सन्दीप तिवारीलाई पनि हिरासतमा लिएको छ। यी दुई जनाबारे पनि नरेन्द्र गिरिको सुसाइड नोटमा उल्लेख गरिएको दाबी गरिएको छ।
तर, नरेन्द्र गिरिले नै लेखेको भनिएको सुसाइड नोटका विषयमा पनि थुप्रै प्रश्नहरु उठेका छन्। यसअघि कसैले पनि उनले पढ्ने लेख्ने गरेको नदेखेको, तर मृत्यु अगाडि कसरी ७ पृष्ठको सुसाइड नोट लेखे भन्ने विषयमा धेरैले प्रश्न उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।