काठमाडौं- रूसमा राष्ट्रपति भ्लादमिर पुटिनको युनाइटेड रसिया पार्टीले संसदीय चुनावमा बहुमत हासिल गरेको छ। तर गत चुनावको भन्दा पार्टीको समर्थनमा केही कमी आएको बीबीसीले जनाएको छ।
चुनावमा धाँधली भएको आरोप लागेपनि त्यहाँको निर्वाचन आयोगले भने त्यस्तो आरोपलाई अस्वीकार गरेको छ।
संसदीय चुनावमा पुटिनको युनाइटेड रशिया पार्टीले ५० प्रतिशत भोट प्राप्त गरेको जनाइएको छ। सन् २०१६ को चुनावमा पुटिनको पार्टीले ५४ प्रतिशत मत पाएको थियो।
राष्ट्रपति पुटिनका कटु आलोचकलाई चुनावमा भाग लिन दिइएको थिएन।
रुसी निर्वाचन आयोगका अनुसार दोस्रो नम्बरमा रहेको कम्युनिस्ट पार्टीले १९ प्रतिशत मत पाएको छ। कम्युनिस्ट पार्टीको भोट ८ प्रतिशत बढेको छ।
४५० सिट रहेको संसदमा पुटिनको पार्टीले दुई तिहाइ भन्दा धेरै बहुत हासिल गरेको अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति पुटिन सत्तामा आएपछि रूसमा चुनाव नाममात्र हुने गरेको आरोप लाग्ने गरेको छ।
समाचार एजेन्सी एपीका अनुसार कम्युनिस्ट पार्टीका नेता गेन्नादी ज्यूगानोवले चुनावमा अनियमितता र धाँधली भएको आरोप लगाएका छन्।
जेलमा रहेका पुटिनका आलोचक ऐलेक्सी नवेलनीले लगाएको भ्रष्टाचारको आरोप र रूसको जीवनस्तरलाई लिएर गरिने तिन्ताको कारण पुटिनको पार्टीको समर्थन प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ।
तर, रूसका धेरै मानिसहरुमा पुटिन अहिले पनि लोकप्रिय छन्। उनीहरुलाई लाग्छ कि पुटिन पश्चिमा देशको चुनौतीको डटेर सामाना गरिरहेका छन् र उनले देशको गौरव बढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।