काठमाडौं- नजिकिँदै गरेको दशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजन सार्वजनिक गरेको छ। ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना सोमबारदेखि लागू गरेको जनाएको छ।
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए।
उनले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए/नभएको चेकजाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए।
योजनासहितको विशेष चेकिङ
दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरुमा २४सै घण्टा चेकजाँच हुने गरेको छ। चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि चेकजाँचलाई समेत कडाइ पार्ने योजनामा उल्लेख छ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजनाछ। मुख्यत: लामो दूरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको जाँच गर्ने महाशाखाले जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत जाँच गर्ने उल्लेख छ।
बढी भीडभाड हुने क्षेत्रमा थप ट्राफिक प्रहरी परिचालन
चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने क्षेत्रमा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ। बसपार्क, उपत्यका प्रवेश गर्ने नाकाहरु, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढी हुने भएकाले अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरि सहज आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए।
यस्तै, उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुने भएको छ। नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।