काठमाडौं- एसियाली विकास बैंक (एडीबी)ले नेपालमा विद्युत् प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नतिका लागि सञ्चालित विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनालाई थप ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ।
सन् २०२० को नोभेम्बरमा स्वीकृत उक्त परियोजनाअन्तर्गत नेपालभरका ३४ वटा सवस्टेसन ग्रिडलाई स्वचालित बनाउने, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान सम्पन्न गर्ने, १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति, ११३ किलोमिटर नयाँ प्रसारण लाइन निर्माण र विद्युत् वितरण प्रणाली कमाण्ड तथा नियन्त्रण केन्द्रको स्थापना गर्ने योजना समेटिएका छन्।
'एडीबीको थप सहयोगले नेपालमा विश्वसनीय, कुशल र दिगो बिजुली आपूर्ति गर्न मद्दत पुग्नेछ,' एडीबीको दक्षिण एसियाका प्रमुख ऊर्जाविज्ञ जीवन आचार्यले भने, 'यसले प्रसारण क्षमता र वितरण नेटवर्कको विस्तार, सुदृढीकरण र आधुनिकीकरणका लागि अतिरिक्त लगानी प्रदान गर्दछ, ताकि सन् २०२६ सम्म ७०० किलोवाट घण्टा प्रतिव्यक्ति बिजुली खपतको लक्ष्य हासिल गर्न सकोस्।'
थप ऋणको रकमबाट नेपालगञ्जदेखि कोहलपुर र चोभारदेखि लगनखेलसम्म १३२ केभीको १६ किलोमिटर प्रसारण लाइन निर्माण गरिने एडीबीले जनाएको छ। यसले दुम्कीबास, लगनखेल, मुलपानी र नेपालगञ्जमा सबस्टेसन निर्माण गरी थप ४७७ मेगाभोल्ट-एम्पियर्स सवस्टेसन क्षमता बढाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।