काठमाडौं- अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सम्झौतालाई लिएर चीन र फ्रान्सपछि उत्तर कोरियाले पनि प्रतिक्रिया जनाएको छ।
उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै यदी उक्त सम्झौताले उत्तरको सुरक्षामा असर पुगे त्यसविरुद्ध कुनै उपायको खोजी गर्ने चेतानवी दिएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले विदेश मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै सोमबार एक समाचार सार्वजनिक गरेको छ जसमा अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको उक्त सम्झौता 'निकै खतरनाक कारबाही' रहेको र जसले एशिया प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलनलाई नष्ट गर्ने जनाएको छ। उत्तरले उक्त सम्झौताले यस क्षेत्रमा 'हतियार दौड' मा वृद्धि गर्ने जनाएको छ।
सरकारी अधिकारीले उत्तर कोरियाले गम्भीरताका साथ तीन देशबीचको सम्झौतालाई हेरिरहेको छ। यदी यसले आफ्नो देशको सुरक्षालाई लिएर 'कम मात्राको नरात्मक असर' देखिए त्यसविरुद्ध कारबाही गर्ने उत्तरले चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले गत शुक्रबार अस्ट्रेलिया र बेलायतसँग एक सुरक्षा सम्झौताको घोषणा गरेका थिए। जसको माध्यमबाट अमेरिकाले अस्ट्रेलियालाई कम्तिमा आठ परमाणु ऊर्जाबाट सञ्चालिन पान्डुबी उपलब्ध गराउँनेछ।
यसले भारत-प्रशान्त क्षेत्रमा चीनको दबदबा कम गर्नका लागि उठाइएको कदमको रुपमा हेरिएको छ। यस सम्झौतासँगै फ्रान्स र अस्ट्रेलियाको १२ पारम्परिक पान्डुबी दिने सम्झौता समाप्त भएको थियो। जसका कारण फ्रान्स अमेरिका र अस्ट्रेलियासँग रिसाएको छ।
उत्तर कोरियाका अधिकारीले फ्रान्सजस्ता सहयोगीमाथि अमेरिकाले ढाडमा छुरा घोपेको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।