काठमाडौं– अमेरिकी अखवार न्यूयोर्क टाइम्सको एउटा समाचारमा इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजराइली खुफिया एजेन्सी मोसादको हात रहेको दाबी गरिएको छ।
समाचारमा दाबी गरिएको छ कि मोसादको टीमले रिमोट कन्ट्रोलबाट चल्ने एक मेसिन गनको प्रयोग गरी नोभेम्बर २०२० मा फख्रिजादेहको हत्या गरेको थियो। समाचारमा उल्लेख गरिएअनुसार यो मेसिन गनले आफ्नो लक्ष्य पूरा गर्न १ मिनेटभन्दा पनि कम समय लगाएको थियो।
बेल्जियममा बनेको एफएन एमएजी मेसिन गनलाई एक अत्याधुनिक रोबोटिक यन्त्रसँग जोडिएको थियो। आर्टिफिसियल इन्टेलीजेन्स र उच्च क्षमताका कम्येराहरुसहित भूउपग्रहमार्फत् सञ्चालन गर्न मिल्ने कम्प्युटर प्रविधि सहितको उक्त हतियारले एक मिनेटमा ६ सय राउन्ड गोली चलाउन सक्ने उक्त विवरणमा उल्लेख गरिएको छ।
मेसिन गनसहितको उक्त उपकरणको तौल करिव १ टनको भएको उल्लेख गरिएको छ।
यसका लागि छोटा–छोटा टुक्रा बनाएर तस्करी गरी इरानसम्म पुर्याइएको र त्यहाँ नै जडान गरिएको समाचारमा दाबी गरिएको छ।
मोहसिन फख्रिजादेह इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक 'रिभोल्युशनरी गार्ड कोर'का एक वरिष्ठ अधिकारी थिए।
पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए।
उनलाई इरानको परमाणु कार्यक्रमका पिता मान्ने गरिन्थ्यो।
सन् २०१८ मा इजरेलले केही गोप्य दस्ताबेज हासिल गरेको र त्यसमा मोहसिनले इरानको परमाणु अस्त्र कार्यक्रमको सुरुवात गरेको पाइएको दाबी गरेको थियो।
त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुख वैज्ञानिकका रूपमा चिनाएका थिए र 'यो नाम सम्झिराख्नुस्' भनेर भनेका थिए।
इरानका राष्ट्रपति हसन रुहानीले गएको नोभेम्बरमा नै फख्रिजादेहको हत्यामा इजराइलको संलग्नता रहेको आरोप लगाएका थिए। इरानले सो हत्याको उपयुक्त समयमा बदला लिने पनि उनले चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।