काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार बनाउन तालिबानसँग वार्ता सुरु गरेका छन्।
ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँगको छलफलपछि तालिबानसँग वार्ता सुरु गरिएको उनले ट्वीटमार्फत् जानकारी दिएका हुन्।
‘दुशानबामा अफगानिस्तानका छिमेकी देशका नेताहरु र विशेष गरी ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग लामो छलफल पछि मैले तालिबानसँग ताजिक, हजारा र उज्वेकिहरु समावेश भएको एक समावेशी सरकारको लागि वार्ता सुरू गरेको छु,’ उनले लेखेका छन्।
खानले ४० वर्षको संघर्षपछि यो कदमले अफगानिस्तानमा शान्ति र स्थिरता ल्याउने विश्वास गरेका छन्।
शुक्रबार ताजिकिस्तानमा भएको शंघाई सहयोग संगठनको बैठकमा उनले अफगानिस्तानमा अस्थिरता अन्य देशहरुको लागि समस्या बन्नसक्ने बताएका थिए।
‘अफगानिस्तानलाई एक्लै छोडे गृहयुद्ध हुन सक्छ। यसले छिमेकी देशहरुमा नकारात्मक असर पार्न सक्छ,’ उनले भने,‘यसले शरणार्थीहरुको संख्या, लागुऔषधको तस्करी र अन्तर्राष्ट्रिय संगठित अपराध बढाउन सक्छ।’
उनले यसको समाधानको लागि वार्ता गर्नुबाहेक अरु कुनै बिकल्प नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।