काठमाडौं- आफूले गरेको ड्रोन आक्रमणबाट अफगानिस्तानमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता हुनुभन्दा केही दिनअघि गरिएको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको हो।
इस्लामिक स्टेट केका आक्रमणकारीलाई लक्षित गरी २९ अगस्टमा गरिएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले स्वीकार गरेको बीबीसीले जनाएको छ। मारिनेमा सात जना बालबालिका थिए, जसमध्ये दुई वर्षीया बालिकासमेत रहेको जनाइएको छ।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको ज्यान जाने गरी भएको आक्रमणको केही दिनपछि अमेरिकाले ड्रोन आक्रमण गरेको थियो। कारमा रहेको पानीको कन्टेनरलाई विस्फोटक पदार्थ ठानेर आक्रमण गरिएको अमेरिकाले जनाएको छ।
इस्लामिक स्टेट (आइएस) को स्थानीय समूह आइएस–केका लडाकु रहेको ठानी अमेरिकी गुप्तचर निकायले सहायताकर्मीको कारलाई ८ घण्टासम्म निगरानी गरेको थियो। त्यसपछि आक्रमण भएको थियो। तर सो आक्रमणमा आफूहरु चुकेको र निर्दोष सर्वसाधारणको ज्यान गएको अमेरिकी सेन्ट्रल कमाण्ड जनरल केनिथ म्याकेन्जीले बताएका छन्।
जनरल म्याकेन्जीले आक्रमण "दु:खद गल्ती" भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।