काठमाडौं– हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लेबनानको स्वास्थ्य संकट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ।
लेबनानको भ्रमणमा रहेका डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियेसस ले लेबनानलाई आवश्यक सहयोग गरिने बताएका हुन्। ‘लेबनानमा गम्भीर चुनौती छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ,’ उनले भने, ‘डब्लूएचओले लेबनानको समस्यालाई सम्बोधन गर्न विश्व समुदायसँग छलफल गरिरहेको छ। छिट्टै सहयोग लेबनान आइपुग्नेछ।’
राष्ट्रपति मिशेल आउनसँग बाबडा प्यालेसमा भएको वार्तापछि गेब्रेयससले कोभिड–१९ महामारी विरुद्ध लड्न लेबनानले गरेको प्रयास सह्रानीय रहेको बताए। ‘लेबनानको कोभिड–१९को स्थिति सुधार्न र अन्य स्वास्थ्य समस्यामा पनि सहयोगको व्यवस्था गर्नेछौं,’ उनले भने।
उक्त अवसरमा लेबनानका राष्ट्रपति मिशेल आउनले देशले सामना गरिरहेको आर्थिक, स्वास्थ्य र मानवीय संकटलाई ध्यानमा राखेर थप सहयोगको माग गरेका थिए। एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गेब्रियेसस बिहीबार लेबनान आइपुगेका थिए। प्रतिनिधिमण्डलले कोभिड–१९ महामारीलगायतका विभिन्न स्वास्थ्य सेवाको अवस्थाको अध्ययन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।