काठमाडौं- हाइटीका प्रधानमन्त्री एरियल हेनरीले न्यायमन्त्रीलाई बर्खास्त गरेका छन्।
हेनरीमाथि राष्ट्रपति जोभेनेल मोइजको हत्याको आरोपमा मुद्दा चलाउन आग्रह गरेसँगै न्यायमन्त्री रकफेलर भिन्सेन्ट बर्खास्तीमा परेका हुन्। एक मुख्य सरकारी वकिललाई बर्खास्त गरेपछि क्यारेबियन राष्ट्रमा गहिरो राजनीतिक संकट चुलिएको छ।
हाइटीको मन्त्रिपरिषद्का महासचिव रेनाल्ड लुबेरिसले पनि राजीनामा दिएका छन्। उनले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको निर्देशन अन्तर्गत रहेर काम गर्न नसक्ने बताएका छन्।
हाइटीको आधिकारिक राजपत्रमा प्रकाशित सूचनाा अनुसार हेनरीले न्यायमन्त्री भिन्सेन्टको स्थानमा आन्तरिकमन्त्री लिस्ट क्विटेललाई नियुक्त गरेका छन्। उनले दुवै मन्त्रालय सम्हाल्ने छन्।
हाइटीका प्रधानमन्त्री हेनरी राष्ट्रपति मोइजको हत्याको मामिलामा मुछिएका छन्। यो घटनाबारे अनुसन्धानको लागि उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ।
अभियोजक पक्षले हेनरीमाथि महाअभियोग लगाउनुपर्ने माग गरेको छ। साथै उनीहरुले हेनरीले मोइजको हत्याका मुख्य संदिग्ध जोसेफ फेलिक्ससँगको सम्बन्धबारे पनि स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
अभियोजन पक्षका अनुसार रेकर्डले राष्ट्रपतिको हत्या भएको केही घण्टामा नै उनीहरुले एकअर्कालाई फोन गरेका थिए। राष्ट्रपति मोइजको गत जुलाई ७ मा आफ्नै घरमा आक्रमणकारीले छिरेर आक्रमण गरेका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार राष्ट्रपतिको शरीरमा १२ गोली लागेको थियो। उनले टाउको, कन्चट, पेट र ढाडमा उक्त गोली लागेको पाइएको थियो।
राष्ट्रपतिको हत्या गर्ने आक्रमणकारी विदेशी र अंग्रेजी तथा स्पेनिस भाषामा कुरा गरिरहेको बताइएको छ। अहिलेसम्म प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा ४४ जनालाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।