काठमाडौं- सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको अर्थविद्हरुले बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका हुन्।
कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताए। ४ किसिमले सामान्यतया बजेट खर्च गर्न पाउने स्मरण गराउँदै उनले सञ्चित कोषमाथि व्ययभार हुने रकम, विनियोजन ऐन, उधारो खर्चसम्बन्धी ऐन ल्याएर र पेस्की खर्चबाट मात्र बजेट खर्च गर्न पाउने बताए।
प्राध्यापक अधिकारीले भने, ‘सरकार बजेटविहीन हुँदा औषधिको खर्च, रासनको खर्चमा प्रभाव पर्छ, एक, दुई दिनलाई त उधारो लिँदा पनि हुन्छ, तर यसले हामीलाई के देखाउँछ भने हामी अर्थतन्त्र, अर्थव्यवस्थाप्रति त्यसलाई अनुशासनमा राख्ने, समयमै बजेट प्रश्तुत गर्ने,जस्त विषयमा हामी गम्भीर रहेनछौँ, सरकार, संसद गम्भीर रहेनछ, राजनीतिक तेतृत्व गम्भीर रहेनछ भन्ने खालको बहुविज्ञान देखिन्छ।’
पूर्व मुख्यसचिव डाक्टर विमल कोइरालाले देश कठिनतम अवस्थामा प्रवेश गरेको बताए। उनले देशको राजनीतिक अवस्था नकारात्मक ढंगले अघि बढिरहेको बताए। उनले देशको राजनीतिक दलहरुले यस्तै बठ्याइँ गरिरहे भविष्यमा पनि यही संस्कार बसिरहने हो कि भन्ने डर भएको बताए।
पूर्व मुख्यसचिव कोइरालाले सरकारसँग बजेटलाई कार्यान्वयन गराउने धेरै विकल्प हुँदाहुँदै पनि सरकारले चनाखो भएर आँकलन गर्न नसकेको बताउनुभयो। उहाँले चुनावको घोषणा गरिसकेको सरकारले पूरा बजेट ल्याउन नमिल्ने पनि स्पष्ट पारे।
‘हामी कठिनबाट कठिनतम अवस्थामा प्रवेश गर्दैछौँ। हाम्रो राजनीतिक अर्घल्याँइ बडो नकारात्मक ढंगले अघि बढेको छ, मलाई त भविष्यमा पनि यस्तै संस्कार हुने हो कि भन्ने डर लागेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।