मस्को– २०१८ विश्वकप फुटबल प्रतियोगिता नजिकै गर्दा अनोकौ अड्कबाजी भइरहेको छ। सवैले दक्षिण अमेरिका र युरोपियन टिमले विश्वकपको ट्रफि उचाल्ने विश्लेषण गरिरहेका छन्।
अफ्रिकन टिमले विश्वकप जित्ने आँकलन कमैले गरेका छन्। तरपनि अफ्रिकन टिमले बिहीबारदेखि हुने विश्वकपमा विपक्षीलाई कडा टक्कर दिने कुरामा शंका छैन। यस संस्करणको विश्वकपमा अफ्रिकाबाट पाँच टिमले सहभागिता जनाएका छन्। जसमा इजिप्ट, मोरक्को, ट्युनिसिया, नाइजेरिया र सेनेगल रहेका छन्।
विश्वकपमा अफ्रिकन टिमलाई 'अन्डरडग्स' को संज्ञा दिने गरिएको छ। किनकी अफ्रिकन टिमहरु विश्वका जुन सुकै टिमलाई पराजित गर्ने क्षमता राख्छन्। तर अफ्रिकन राष्ट्रले विश्वकपमा क्वार्टरफाइनल माथिको यात्रा गर्न सकेका छैनन्। क्यामररुनले १९९० मा, सेनेगलले २००२ र घानाले सन् २०१० मा अन्तिम आठमा स्थान बनाएका थिए।
सन् १९९० मा क्यामरुनलाई इंग्ल्यान्डले हराएको थियो। सात मिनेट बाँकी छदा इंग्यान्डले पेनाल्टी पाउदा खेल थप समयमा धकेलियो। खेलमा इंग्ल्यान्ड ३–२ गोलले पराजित भएको थियो। सन् २००२ मा सेनेगलविरुद्ध टर्कीले थप गरिएको समयमा गोल गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो। सन् २०१० मा उरुग्वे विरुद्धको खेलमा घाना पनि थप गरिएको समयमै पराजित भयो। खेलमा घानाका खेलाडीको प्रहारलाई उरुग्वेका लुइस सुआरेजलले गोललाइनबाट हातले फर्काइदिएका थिए। त्यसपछि पाएको पेनाल्टीमा घानाका आसामोह ज्ञान गोल गर्न चुके। पेनाल्टी सुटआउटमा उरुग्वे विजयी भयो।
यसअघिका विश्वकपमा अभागि साबित भएका अफ्रिकन टिमको यसपटकको लक्ष्य उच्चतम प्रदर्शन गर्ने हुने छ।
इजिप्ट
इजिप्ट सन् १९९० पछि विश्वकपमा फर्किएको हो। अफ्रिका छनोटको अन्तिम खेलमा कंगोलाईलाई हराएपछि इजिप्टले रसियाको टिकट पक्का गरेको थियो। इजिप्टका लागि अन्तिम समयमा पाएको पेनाल्टीमा मोहमद सलाहले गोल गरेका थिए। इंग्लिस क्लब लिभरपुलमा आवद्ध सलाहले सिजनमा उत्कृष्ट खेल खेल्न सफल भए। त्यसलै इजिप्टले विश्वकपमा उनीबाट धेरे आशा गरेको छ। तर च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाह विश्वकपमा फिट हुने वा नहुने अहिलेसम्म पक्का छैन।
टिममा रहेका ४५ वर्षीय गोलकिपर इसाम इल हाडरीले विश्वकपमा इतिहास बनाउँदैछन्। उनी मैदान उत्रिए विश्वकपम खेल्ने सवैभन्दा पाका खेलाडी हुनेछन्।इजिप्टको प्रशिक्षकमा अर्जेन्टिनाका हेन्टर कुपर छन्।

इजिप्ट विश्वकपमा समुह 'ए' मा छ। यो समूहमा इजिप्टसँगै आयोजक रसिया, साउदी अरेबिया र उरुग्वे छन्। समूह चरण पार गरेपनि इजिप्टलाई अन्तिम १६ अझै कठिन हुनेछ। जहाँ इजिप्टले पोर्चुगल वा स्पेन मध्ये एक टिमसँग खेल्ने सम्भावना छ।
मोरक्को
अफ्रिका छनोटमा कुनै पनि खेलमा हार नबेहोरेको मोरक्कोले सन् १९९८ पछि विश्वकपमा स्थान बनाएको हो। त्यतिबेला मोरक्को समूह चरणबाटै बाहिरियो।
२०१८ विश्वकपमा मोरक्को समूह 'बी' मा छ। मोरक्कोले समूह चरणमा स्पेन, पोर्चुगल र इरानसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। युरोपियन च्याम्पियन र पूर्व विश्वकविजेताको समूहमा रहेकाले मोरक्कोलाई गाह्रो छ। मोरक्कोको रक्षापंक्ति बलियो छ। युभेन्ट्सका डिफेन्डर मेहदी बेनाटियको कप्तानीमा उत्रने मोरक्कोलाई कम आँक्ने आट विपक्षीले गर्नेछैनन्।

मोरक्कोको कमजोर पक्ष भनेको अंग्रपक्ति हो। छनोटको पछिल्ला ३ खेल गोलरहित बराबरीमा टुंगिएको थियो। अजाक्कका स्ट्राइकर हकिम जियेच र खालिड बाउटाब मोरक्कोका पहिलो रोजाइका फरवार्ड हुन्। मोरक्कोको प्रशिक्षकमा फ्रान्सका हर्भे रेनार्ड छन्।
नाइजेरिया
अफ्रिकाको फुटबल पावरहाउस नाइजेरिया सन् १९९४ पछि छैटौं पटक विश्वकप खेल्दैछ। सन् १९९४ पछि नाइजेरिया २००६ मा मात्र मात्र छनोट हुन सकेको थिएन।
अफ्रिका छनोटमा अल्जेरियालाई पछि पार्दै नाइजेरियाले रसियाको टिकट पक्का परेको हो। विश्वकपमा नाइजेरिया समूह 'डी' छ। यो समूहमा अर्जेन्टिना, आइसल्यान्ड र क्रोएसिया छन्।
टिममा युरोपबाट व्यवसायिक लिग खेल्ने खेलाडीको जमघट छ। गत सिजनसम्म चेल्सीमा रहेका जोन ओवी मिकेलको कप्तानीमा मैदान उत्रने नाइजेरियामा लेस्ट सिटीका विल्फ्रेड एनडिडी र आर्नसलका एलेक्स इओवी मुख्य हति हार हुन्। यस्तै लेस्टरकैका केलेची इहेनाचोले पनि नाइजरियाका मुख्य खेलाडी हुन्।

समूह चरण पार गरेको अवस्थामा नाइजेरियाले फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया मध्ये एक टिमसँग खेल्नु पर्नेछ। जसले उसको क्वार्टरफाइनलको सम्भावना बढि रहन्छ। तर समूह चरणमै नाइजेरियाले कठिक चुनौती सामना गर्नु पर्ने देखिन्छ।
ट्युनिसिया
ट्युनिसिया सन् २००६ पछि विश्वकपमा छनोट भएको हो। अफ्रिका छनोटमा डिआर कंगोलाई १ अंकले पछि पारेर ट्युनिसियाले विश्वकपमा स्थान बनाएको हो।

समूह 'जी' मा ट्युनिसयाले बेल्जियम, इंग्ल्यान्ड र पानामासँग प्रतिस्पर्धा गर्नेछ। टिममा मिडफिल्डर वाहवी खाजरि र नाइम स्लिटी प्रतिभाशाली खेलाडी हुन्। स्ट्राइकर युसेप एमसाक्नी ट्युनिसियाका मुख्य खेलाडी हुन्। तर युसेफ फिट छैनन्। प्रशिक्षक नबिल मालोउले युसेफबिना खेल्नु भनेको अर्जेन्टिनाले मेसी बिना खेल्नु जस्तै बताएका थिए। अब उनै युसेफ टिममा नहुने पक्का भएपछि ट्युनिसिया संकटमा छ।
सेनेगल
सेनेगललाई अफ्रिकाबाट छनोट हुने सवैभन्दा बलियो टिम मानिएको छ। लिभपरपुलबाट खेल्ने स्टार खेलाडी साडियो माने, नापोलीका कलिडेउ काउलिबाली, मोनाकवका केइटा बान्डे र इभर्टनका अलड्रिसा गान गउये जस्ता खेलाडीको जमघटले सेनेगल आत्मविश्वासी देखिएको छ। सेनेगलका प्रशिक्षकमा अलिओउ सिसे छन्। उनको कप्तानमा सेनेगल सन् २००२ को विश्वकपमा उत्रिएको थियो।

सन् २००२ पछि पहिलोपटक विश्वकप खेल्न लागेको सेनेगल समूह 'एच' मा छ। समूहमा सेनेगलले जापान, पोल्यान्ड र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहमा सवै टिमलाई समान स्तारमा राखिएको छ। जसले सवै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।