काठमाडौं- सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक सकारात्मक रहेको व्यवसायी तथा उद्योगीहरुले बताएका छन्। विधेयक साधारण खर्च घटाउने, पुँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन्।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताए। अध्यक्ष दुलालले २०७८/७९ को प्रतिस्थापन बजेटमा स्वागतयोग्य रहेको बताउँदै अब नेपालमा अटोमोबाइल उद्योगहरुको उदय हुने बताएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पाादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको भन्दै यो नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुंगा सावित हुने उनले बताए। मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गरिएकोप्रति भने उनले असन्तुष्टि जनाए। सेगमेण्ट परिवर्तन भइरहँदा उपभोक्तालाई थप आर्थिक भार परेको भन्दै गत वर्षकै सेगमेण्टलाई कायम गर्न उनले सरकारसँग आग्रह गरे।
'नाडाले झण्डै एक दशक अघिदेखि नै बजेटसम्बन्धी सुझावहरुमार्फत् निरन्तर रुपमा सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएको थियो। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०१, ८७.०३ र ८७.११ मा पर्ने गरी सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडा यसको स्वागत गर्दछ,' अध्यक्ष दुलालले भने, 'यो निर्णयले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुंगा सावित हुनेछ, यो जुन सरकार आए पनि परिवर्तन हुँदैन भन्ने नाडाको विश्वास छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण खर्च घटाउने, पुँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएकोले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताए। उनले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताए।
वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा केही राम्रा कुराहरु पनि समेटिएका छन्, जस्तै: साधारण खर्च घटाउने र पुँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याइएको छ, सँगै आन्तरिक उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ। रोजगारी सिर्जना गर्ने कुराहरुलाई प्राथमिकतामा राखेको छ, तर विगतका वर्षहरुमा हामीले बजेट ल्याए पनि कार्यान्वयन नभएको पाएका छौँ। त्यसैले समयमै कार्यान्यन हुनसक्यो भने राम्रो हुन्छ।’
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताए। उनले प्रतिस्थापन बजेटले शून्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताए। प्रथम उपाध्यक्ष शाहले सरकारले यसलाई समयमै लागू गर्ने आश कमै मात्र रहेको बताए।
उनले भने, ‘प्रतिस्थापन विधेयक ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको छ, यसले लगानीकर्ताहरुलाई कोरोना भाइरसका कारण मर्न लागेको व्यवसाय उठ्छ कि भन्ने आशा जगाएको छ, तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बिडम्बना छ, आर्थिक वर्षको दुई महिना त बितिसक्यो तर दसैं तिहार भनेर कार्यान्वयनमा ढिला नहोस्।’
प्रथम उपाध्यक्ष शाहले बजेटमा राम्रो कार्यक्रमहरु आए पनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै सरकारले कार्यान्वयनमा ढिलाइ गर्न नहुनेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।