फाइल तस्वीर
काठमाडौं– मनसुनजन्य घटना (बाढीपहिरो र डुबान)मा परी यो वर्ष देशभर १३० जनाको मृत्यु भएको छ। यस्ता विपत्का घटनामा परी ४१ जना हालसम्म पनि बेपत्ता रहेको गृहमन्त्रालयको तथ्यांक छ।
भारी वर्षापछिको बाढी, पहिरो र डुबानबाट यो वर्ष ७१ जिल्ला प्रभावित बन्यो। मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पा, कास्की, दाङ, पर्वतलगायत जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ। सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् संकटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुत्थानका कार्यसमेत अघि बढाइसकेको छ। सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति सिन्धुपाल्चोकमा भएको छ।
जल तथा मौसम विज्ञान विभागले गत वैशाखमै मनसुन अवधिमा सुदुरपश्चिम, कर्णाली गण्डकी, बागमती प्रदशेका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो।उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आकलन गरिएको थियो। नेपालमा यसपाली जेठ २८ गते भित्रिएको मनसुन आगामी असोज १७ को आसापास बाहिरिनेछ।
सुरुआती वर्षाले नै मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। असार १ र असार १६ गते मेलम्ची खोलामा आएको बाढीले हेलम्बुदेखि मेलम्चीसम्मकै क्षेत्रमा असर पार्यो।
गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता भएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २४७ घर बाढीले भत्काएको छ। कुल १७ सय रोपनीभन्दा बढी जमिन कटानको चपेटामा परेको छ। जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।
उता जिल्लाको हेलम्बु गाउँपालिकामा २२७ घर बग्यो भने कुल २१ सय रोपनीभन्दा बढी जग्गा लगेको विवरण प्राप्त छ। यस्तै पाल्पामा छ, कास्कीमा सात, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल एक हजार ७६२ विपद्का घटना भएको छ । ती घटनाबाट २३४ जनाको मृत्यु भएको छ। यसमा बाढीपहिरो र डुबान बाहेकका विपद्जन्य घटनासमेत समावेश छ। तीन घटनामा ४१ जना हराइरहेका छन् भने ४६४ घाइते भए। कुल दुई हजार २७८ परिवार प्रभावित छन् भने सात अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ।
जसमा सबैभन्दा बढी ६७९ आगलागीका घटना भए। यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराबाट ७७ ले ज्यान गुमाएका छन्। सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।