काठमाडौं– जोरपाटी हुँदै गोकर्ण र सुन्दरीजल जोड्ने सडक विस्तार सुरु भएको ६ वर्ष वितिसक्यो। तर, सडक विस्तारको काम अझै सकिएको छैन। विस्तारका लागि भनेर खनिएको सडक कहिले हिलाम्य त कहिले धूलाम्य हुन्छ।
वर्षात्को बेला खाल्डामा पानी जम्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना सडक विस्तारमा भइरहेको ढिलाइले स्थानीयले दु:ख पाइरहेको बताउँछन्।
संघीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ। अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहज रुपमा सवारी हिँड्ने वातावरण बनाउन पटक–पटक गरिएको अनुरोध समेत नमान्दा धेरैले दुःख पाएका ढुङ्गानाको भनाइ छ।
आर्थिक वर्ष २०७५/७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको ७ किलोमिटर सडक ६ वर्षदेखि अलपत्र छ। सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी बिरोध गरेपछि बिस्तार हुन सकेको थिएन। केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो।

७ किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ ७/७ मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए। यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन्।
अत्तरखेल मूल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आएकी रञ्जना श्रेष्ठ वर्षात्मा हिलो र हिउँदमा धूलो खाएर स्वास्थ्य नै संकटमा पर्दै गएको गुनासो गर्छिन्। नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ। आर्थिक वर्ष २०७६/७७ सक्ने सहमति नभइ थप गरिएको एक वर्षमा पनि काम सकिएन।
आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो। त्यो अवधिमा पनि काम सकिएन। ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्।
विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तारलगायत संरचना अझै हटेको छैन। सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी डबले तामाङले गुनासो गरे।
ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षात्को समयमा हिलो एवं धूलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ। निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी सुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएकाले काममा ढिलाइ भएको बताउँछन्।
पछिल्लो समय अन्य स्थानमा ग्राभेल हालेर हिँडन सजिलो बनाइए पनि नेपाल मेडिकल कलेजअघिको सडक अलपत्र छोड्दा एम्बुलेन्समा यात्रा गर्ने बिरामीसमेत प्रभावित हुने गरेका छन्। अस्पताल अगाडिकै सडकमा बनेको खाल्डा खुल्डीमा पानी जमेर ठूला पोखरी बनेपनि सरोकार भएका निकायको ध्यान नजाँदा समस्या भएको स्थानीय बुद्धिमान तामाङले बताए। राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।