काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले संघीय संसद्मा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकमा प्रस्तावित बजेटको स्वागत गरेको छ।
प्रस्तावित बजेटमा कोभिड-१९ बाट अति प्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने, चालु खर्च कटौती गरी सो रकम कोभिड-१९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड-१९ का कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने व्यवस्था सकारात्मक रहेको बताएको छ।
कोभिड-१९को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवम असंगठित क्षेत्रमा रहेको अति विपन्न गरिबलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य कदम भएको चेम्बरको भनाइ छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए।
चेम्बरले पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको स्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाईसकारात्मक भनेको छ। विनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएकोमा चेम्बरले स्वागत गरेको छ।
‘कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा वृद्धि गरी ८० प्रतिशत पुर्याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरूको आकर्षण बढाउने, कृषिबाली तथा पशु बिमाको दायरा विस्तार गरी दिइँदै आएको बिमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याइनु स्वागतयोग्य छ,’ चेम्बरले भनेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेशस्तरमा उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमूनाको रूपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समूहहरूको संयन्त्र निर्माण गरी कार्यन्वयन गर्ने प्रबन्ध मिलाएकोमा पनि चेम्बरले स्वागत गरेको छ।
साथै, २०० मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविधुत् आयोजनाका लागि कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म पूरै र यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिई लगानी आकर्षित गर्ने व्यवस्था गरिनु सकारात्मक भएको चेम्बरले बताएको छ।
‘अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई तीन वर्षसम्म सतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत कर छुटको व्यवस्था सकारात्मक छ। प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्म पढ्ने विद्यार्थीलाई पढ्दै कमाउने कार्यक्रम पनि उत्साहवर्द्धक छ,’ चेम्बरको भनाइ छ।
बजेट समग्रमा सकारात्मक भएता पनि आन्तरिक राजस्व २५ अर्बले वृद्धि तथा कूल गार्हस्थ उत्पादन सात प्रतिशत वृद्धि गर्ने लक्ष्य कोभिड-१९ ले थलिएको विषम् परिस्थितिका कारण चुनौतीपूर्ण हुने चेम्बरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।