काठमाडौं– सत्तारुढ दलकै सांसदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेलमा सरकार लागिरहेको आरोप लगाएका छन्।
प्रतिनिधी सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद खगराज अधिकारीले सरकार भित्रैबाट अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
२०३२ सालदेखि जग्गा अधिग्रहण गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि काम भइरहेको अवस्थामा एकाएक विज्ञको प्रतिवेदनका नाममा उडानै भर्न नसक्ने भनिएको भन्दै उनले असन्तुष्टि जनाए।
‘एकाएक सरकारकै कुनै विशेषज्ञको नाममा नक्कली ढंगले अब अन्तर्राष्ट्रिय उडान पोखरामा हुन सक्दैन भन्ने अधिकार कसले दियो? ती माथि छानविन भएर कारवाही हुन्छ कि हुदैन?,’ उनले प्रश्न गरे, ‘आज विकास निर्माणका काममा बाधा दिने मन्त्रालयकै कर्मचारीलाई कारवाही हुन्छ कि हुदैन?’
सांसद अधिकारीले नेपाल सरकारबाट एक रुपैयाँ नपाइकन पनि विमानस्थल निर्माणको जिम्मा पाएको कम्पनीले जग्गा सम्याउने लगायत १५ प्रतिशत काम गरिसकेको समयमा सरकार भित्रैबाट ‘विकास विरोधी एजेण्ट’ घुसाएर गलत प्रचार गरिएको आरोप लगाए। अन्तर्राष्ट्रिय उडान हुँदैन भनेर प्रतिवेदन दिने मन्त्रालयका कर्मचारीमाथि कारबाही गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
गलत प्रचार गरेर ‘जनताको मनमा चिसो पानी खन्याउने काम गम्भीर अपराध’ भएको भन्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा जनतालाई आश्वस्त पार्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।