काठमाडौं– सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरबन्दी कटौती गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा अब ३ र सशस्त्र प्रहरीमा २ जना मात्र एआइजी राख्ने निर्णय गरेको हो।
यसअघि व्यक्तिका लागि पद थप्दै नेपाल प्रहरीमा १५ जनासम्म एआइजीको दरबन्दी पुर्याइएको थियो।
मुख्यालयका २ विभाग तथा प्रहरी एकेडेमीमा एआइजी राख्न लागिएको हो। नेपाल प्रहरीमा हाल प्रशासनतर्फ कोही एआइजी छैनन्। प्रहरी अस्पतालमा भने एआइजी कार्यरत छन्। अस्पतालमा एक प्राविधकिसहित गरी ४ एआईजी राख्ने निर्णय भएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए।
सशस्त्र प्रहरीमा पनि १० जनासम्म एआइजी रहेकोमा अब २ जना मात्र हुनेछन्। सशस्त्रमा हाल ७ जना एआइजी छन्। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय भइसकेको छैन।
३१ सय दरबन्दी थपियो
आइतबारको मन्त्रिपरिषद् बैठकले ३ हजार १ सय १ दरबन्दी थप गरेको छ।
थप गर्न लागिएको दरबन्दीमा एक एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन्। हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्याउनका लागि दरबन्दी थप भएको हो।
विभिन्न गाउँपालिकामा नयाँ कार्यालय स्थापनाको प्रस्ताव अनुसार दरबन्दी थप भएको हो। त्यस्तै, नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वि रुकुममा पनि दरबन्दी स्वीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।