काठमाडौं– लाजिम्पाटस्थित इजरायल दुतावासभित्र नेपाल प्रहरीका असइले गोली हानेर आत्महत्या गरेका छन्। दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार दुतावासभित्र बस्ने कोठाभित्रै उनले आत्महत्या गरेका हुन्। पेस्तोलबाट उनले टाउकोमा गोली हानेका थिए। असइ थापाको दरबन्दी पहरा गणमा थियो।
खाना खान बोलाउन गएका बेला उनलाई अन्य प्रहरीले मृत अवस्थामा भेटाएका हुन्। कोठामा उनले भित्रबाट ढोका लगाएका थिए। गोली चलेको आवाज आफुहरुले नसुनेको अन्य प्रहरीहरुले बताएका छन्।
असइ थापा दुतावासको सुरक्षामा नेपालको तर्फबाट सुरक्षा इन्चार्जका रुपमा कार्यरत थिए। आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।