काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान-प्रदानको प्रस्ताव गरेको छ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदान-प्रदानको प्रस्ताव गरेको हो। नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान-प्रदान हुँदै आएको छ।
बर्खाका छ महिना नेपालबाट विद्युत् बिहार पठाउने र हिउँदका छ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदान-प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘बर्खाका महिनामा २४सै घण्टा २०० मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिनेछ,’ उनले भने, ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्पारिक विद्युत् आदान- प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत् कारोबारको कोशेढुंगा हुनेछ। यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यसबारेमा ठोस निर्णय आउने विश्वास छ।’
कार्यकारी निर्देशक घिसिङकाअनुसार यस वर्षको बाँकी तीन महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिनेछ। हिउँदयाममा त्यतिनै बराबरको विद्युत् आयात गर्न सकिन्छ। यसले गर्दा बर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुनेछ।
अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारणलाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदान-प्रदान गर्न सकिन्छ। प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर-मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ। साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिनेछ। यसबाट सञ्चालनमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारकोसमेत उपभोग हुनेछ।
बर्खामा उत्पादित विद्युत् आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आइ प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन्। बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए।
टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जिव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान-प्रदानका विषयमा छलफल एवं प्रस्ताव पेस गरेको थियो। साथै, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरुसँग विस्तृत छलफल गरेको थियो।
प्राधिकरणले अहिलेसम्म ३४६ आयोजनाहरुसँग छ हजार १७६ मेगावाटको पीपीए गरेको छ। यसमध्ये १११ आयोजनाहरु निर्माण सम्पन्न भइ सञ्चालनमा छन्। आयोजनाहरुको जडित क्षमता एक हजार ३०० मेगावाट छ। तीन हजार ३४ मेगावाट जडित क्षमता भएका १३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन्। एक हजार ८४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरु वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन्।
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिको लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरु, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारीहरु एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय, एनटीपीसी विद्युत् व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पीटीसी)का पदाधिकारीहरुसँग विस्तृत छलफल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।