काठमाडौं- सरकारले सातै प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्न संसदमा प्रतिस्थापन विधेयक पेस गर्दै देशभरका सबै प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गरिने घोषणा गरेका हुन्। सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शैक्षिक सुधारको लागि केन्द्र स्थापना गरिने उनले बताए।
शैक्षिक उत्कृष्टता केन्द्रबाट गुणस्तरीय शैक्षिक सामाग्री र पाठयक्रम समेत उत्पादन गरी विद्युतीय माध्यमबाट प्रदेशभरका सार्वजनिक विद्यालयमा उपलब्ध गराउने प्रबन्ध गरेको अर्थमन्त्री शर्माले संसदमा जानकारी दिएका छन्।
सँगै सरकारले प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमूनाको रुपमा सुरुवात गरिने शर्माले बताए।
गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको प्रयोग गरि शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल तथा विद्यार्थीका संख्याको आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्शांकन तयार गरेर कार्यन्वयन गरिने शर्माले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।