काठमाडाैं– नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार कुल लगानीको आधा भन्दा धेरै औद्योगिक क्षेत्रमा रहेको देखिएको हो।
औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी तथ्यांक संकलन गरी लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ। सोही अनुसार विभागले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन सार्वजानिक गरेको हो।
प्रतिवेदनअनुसार २०७७ असार मसान्तसम्म नेपालमा ५२ देशबाट प्रत्यक्ष लगानी भित्रिएको छ। भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड भित्रिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालितमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६÷७७’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ।
प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड कायम रहेको छ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।