काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै शर्माले कांग्रेसलाई तीनवटा निर्वाचन जिताउन महामन्त्रीमा आफ्नो उम्मेदवारी रहेको बताए। 'नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने घोषणा गर्न चाहन्छु, ताकि नेपाली कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ। नेपाली कांग्रेसले त्यो बाटो दिनुपर्ने कर्तव्यलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ', उनले भने।
बीपीले लगातार तीनवटा निर्वाचन जित्दै १५ वर्षमा देशलाई माथि उठाउने सपनाको खाका प्रस्तुत गरेको शर्माले बताए। '२०१५६ जेठ १३ गते प्रधानमन्त्री बन्नुभएको बीपीले १५ वर्षको समय पाएँ भने म देशलाई यहाँबाट त्यहाँ पुर्याउँछु, हरेक नेपालीलाई आफूजस्तै बनाउन चाहन्छु। तीनवटा आम निर्वाचनमा विजयी बनाऔँ भन्नुभयो', शर्माले भने, 'तर महेन्द्रले त्यो परिकल्पनालाई स्वीकार गरेनन्। ल्याएर सुन्दरीजलको जेलमा राखे।'
उनले कांग्रेसले दोस्रो निर्वाचन नहारेको र दोस्रो निर्वाचन नजितेका बताए। '२०४८ सालमा जित्ने, २०५१ मा हार्ने। २०५६ मा जित्ने, २०६४ मा हार्ने। तर, फेरि २०७० मा जित्ने, २०७४ मा हार्ने। नेपाली कांग्रेसले एउटा निर्वाचन जित्ने र अर्को हार्ने हो भने बीपीले १५ वर्षमा देशलाई बनाउँछु भनेर लगातार तीन वटा निर्वाचन जित्ने भनेर गरेको परिकल्पनालाई सम्बोधन गर्न सकिन्न। देश निर्माण गर्न सकिन्न। अस्थिरताको जन्जालमा पर्छ', उनले भने, 'त्यो बेलामा देश बनेन भने कम्युनिस्टलाई मात्रै होइन, कांग्रेसलाई पनि प्रश्न आउँछ। हाम्रो पुस्तालाई पनि आउँछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।