काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाई बहुमतको दम्भमा अगाडि बढेको सरकारको महत्वकांक्षाले मुलुकलाई अनिष्टतर्फ धकेल्न सक्ने भन्दै प्रजातन्त्रवादीलाई सजग हुन आग्रह गरेका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकार सञ्चालनका लागि आवश्यक बहुमत हुँदाहुदै दुई तिहाई पुर्याएर कार्यकारी राष्ट्रप्रमुखको प्रसंग उठाउनुले अनिष्ठको संकेत गरेको बताएका हुन्।
सरकार र सरकारमा सहभागी दलका नेताहरु असीमित महत्वकांक्षातर्फ अघि बढेकाले मुलुक दुर्घटनामा पर्ने खतरा बढेकोे तर्क उनको थियो। नेताहरुको महत्वाकांक्षाले मुलुकलाई अनिष्टतर्फ धकेलेका कैयौं उदाहरण रहेको भन्दै उनले त्यस किसिमको संकटबाट मुलुकलाई जोगाउन सम्पूर्ण प्रजातन्त्रवादी एकजुट हुनुपर्ने बताए।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेताहरुले विभिन्न सार्वजनिक समारोहमा कार्यकारी राष्ट्रपतिको व्यवस्थाबारे अभिव्यक्ति दिन थालेपछि प्रमुख प्रतिपक्षी कांग्रेस लगायत संवैधानिक राष्ट्रपतिको पक्षमा रहेका दलहरुले सरकारको नियतप्रति शंका व्यक्त गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।