काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई अझै १५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
आफ्नो आम्दानीबाट किसानको बक्यौता भुक्तानी गर्न नसकेपछि डीडीसीले सरकारबाट २० करोड रुपैयाँ सहुलित ऋण प्राप्त गरेको थियो। सोही रकमबाट किसानको बक्यौता रकम तिर्न सुरु गरेपछि अहिले किसानलाई असार १५ गतेसम्मको भुक्तानी भइसकेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए। बाँकी रकम भदौ मसान्तभित्र भुक्तानी गरिसक्ने उनले बताए।
असोजदेखि किसानको रकम नियमित भुक्तानी हुने दाबी गर्दै उनले साउनदेखि दूध सङ्कलन कम हुने भएकाले भुक्तानी नियमित गर्न समस्या नहुने बताए। कोभिड–१९ महामारीका बेला दूध संकलन र बिक्री वितरण समान्य नहुँदा डीडीसीको चालू पुँजीमा समेत समस्या भई किसानलाई भुक्तानी दिन समस्या भएको उनले बताए।
बिक्री नहुँदा धुलो दूध, बटर बनाउँदै भण्डारमा राख्ने काम मात्र भइरहेको थियो। अहिले दूधको खपतमा वृद्धि भएसँगै समस्या समाधानतर्फ गइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।