काठमाडौं– हत्या गरिएको अवस्थामा फेला परेका संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका एकै परिवारका ६ जनाको सुनसरीको इटहरीमा अन्त्येष्टि गरिएको छ।
मादी नगरपालिका–१ खोला गाउँका ८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय छोरा तेज बहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको आइतबार राति हत्या भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार बिहान पौन १० बजेतिर स्थानीयले बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा १ वटा शव घरमा, एक वटा सडकमा, २ वटा बारीको कान्लामा र २ वटा खोल्सामा भेटिएको थिए।
प्रहरीले घटनास्थलको मुचुल्का गरेर मंगलबार शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो।
धरानमा शव परीक्षण गरेर बुधबार मृतक ६ जनाकै इटहरीको बुढीगंगा घाटमा सामूहिक दाहसंस्कार गरिएको हो।
हत्या घटनाको सन्दर्भमा अनुसन्धान गर्न प्रहरीका करिब ४ टोली घटनास्थलमा पुगेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट समेत अनुसन्धान टोली खोला गाउँ पुगेको छ। तर, घटनामा संलग्नहरु भने फेला परेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।