काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताएका छन्। बुधबार लगानी बोर्ड नेपालको १०औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताए। विषम् परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउन उल्लेख्य काम गरिरहेको उनले बताए।
कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताए। निजी क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकोले अब सार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउनुपर्ने उनको भनाइ थियो।


कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बताए। लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा ढोका भएको बताउँदै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानीको ढोकाबाट प्रवेश गर्दा विश्वास दिलाउनसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले लगानी प्रवाहलाई प्रवर्द्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐनजस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानुपर्ने बताए। अर्थमन्त्री शर्माले लगानी गर्नुको मुख्य उद्देश्य भनेको गरिबीको अन्त्य गर्ने, व्यापार घाटाको अन्त्य गर्ने र देशलाई समृद्धस्तरमा पुर्याउने भएको बताए। उनले नेपालका विभिन्न स्थानहरुमा लगानी गर्नका लागि विदेशी लगानी कर्ताहरुलाई उत्साहका साथ नेपाल आउने व्यवस्था र वातावरण सिर्जना गर्न सरकार लागि परेको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले विकासको योजनालाई पहिलो प्राथमिकतामा राखेको बताइन्। ऊर्जामन्त्री भुसालले नेपाल सरकारले २०२० देखि २०३० सम्ममा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताइन्। उनले नेपाल विद्युत् उत्पादनको क्षेत्रमा धनी रहेको भन्दै अहिले हाइड्रोपावरको क्षेत्रमा धेरै ध्यान दिइरहेको बताइन्।
कार्यक्रममा चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रुप चाइनाका प्रबन्ध निर्देशक ल्यू सु डोङले नेपालमा झन्डै ४० अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको बताए। उनले नेपालको एसएच इन्भेष्मेण्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।