काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सामाजिक न्याय र समृद्धि दिलाउनका लागि विदेशी लगानी आवश्यक भएको बताएका छन्। लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री शर्माले नेपालमा रहेका प्राकृतिक स्रोतबाट लाभ लिन विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए।
‘नेपालको प्राकृतिक सुन्दरतालाई मुख्य पुँजीको रुपमा लिनुपर्छ,’ उनले भने, ‘यो पुँजीलाई गतिशील तथा परिणाममुखी बनाउनका लागि र यसबाट बढीभन्दा बढी लाभ लिएर जनतालाई सामाजिक न्याय र समृद्धि दिलाउन हामीलाई विदेशी लगानीको आवश्यकता छ।’
सरकारले लगानीकर्ताहरुले औँल्याएका समस्याहरु समाधान गर्ने उनले बताए। समृद्धिका लागि नेपाली जनताको ठूलो आकांक्षा हुँदा पनि नेपालमा पर्याप्त लगानी नभएकाले सरकारले नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्ने उनले बताए।
‘हाम्रो लगानीको उद्देश्य हाम्रो देशको गरिबीको अन्त्य गर्ने, व्यापार घाटा अन्त्य गर्ने र देशलाई समृद्धिको स्तरमा पुर्याउने हो,’ अर्थमन्त्री शर्माले भने, ‘हामीसँग धेरै समय छैन। आफ्नो मात्रै पुँजी लगानी गर्दा धेरै ढिलो हुन्छ। त्यसैले हामी वैदेशिक लगानी भित्र्याउन चाहन्छौं। सरकार, निजी क्षेत्र र वैदेशिक लगानीको आपसी विश्वासमा मात्रै हामी परिणाम हासिल गर्छौं भन्ने लागेको छ।’
नेपालमा लगानी गर्न आउनेलाई समयमै परियोजना दिन सक्नुपर्ने शर्माले बताए। नेपालमा उपलब्ध स्रोत र प्राकृतिक सुन्दरतालाई पर्याप्त रुपमा प्रयोग गर्न वैदेशिक लगानी आवश्यक हुनेमा शर्माको जोड थियो। शर्माले सरकारले नेपालमा लगानी गर्ने वातावरणको सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।