काठमाडौं– नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल धागो उत्पादक संघले २४सै घण्टा विद्युतको प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिर्ने बताएको हो।
विद्युत महशुल आयोगले बोर्डको १०३ औँ बैठकबाट २४ सै घण्टा विद्युत आपूर्ति गरे ६० प्रतिशत महशुल लिन पाउने अन्यथा नपाउने भनेपनि त्यसबिपरित उद्योगीहरुलाई बिल पठाएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए।
प्राधिकरणले भने बमोजिम आफूलाई पावर सप्लाइ पनि नभएको र कुनै पनि उद्योगले २४ घण्टा विद्युत नपाएको अध्यक्ष गोल्यानले बताए। प्राधिकरणले उद्योगले प्रयोग नै नगरेको विद्युतको महसुल उठाउन लागेको भन्दै उनले आपत्ति जनाए।
उनले एनइएले बनाएको नियम मिचेको वा २४सै घण्टा विद्युत प्रयोग गरेको भए कानुन अनुरुप कारबाही भोग्न आफूहरु तयार रहेको उनको भनाइ थियो।
संघका उपाध्यक्ष विष्णु न्यौपानेले उद्योगी र प्राधिकरणको समस्याको समाधान गर्न विद्युत प्रयोग गरेकाबाट महसुल उठाउने र नगरेकालाई छोड्नुपर्ने बताए। नेपाल सरकारले आफ्नो संयन्त्र प्रयोग गरेर प्राधिकरण र उद्योगीको छुट्टै कमिटी बनाएर काम गरे मात्र समस्याको समाधान हुने उपाध्यक्ष न्यौपानेले बताए।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले विवादमा आएका हरेक उद्योगहरुले प्रयोग गरिसकेपछि एक रुपैयाँ पनि वक्यौता नराखेको बताए। डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरुले समयमै पैसा तिरेको अध्यक्ष थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।