काठमाडौं– एकै परिवारका ६ जनाको हत्या भएको संखुसभा जिल्लाको मादी नगरपालिका–१ खोला गाउँको घटनास्थलमा १५ तोला सुन र ३ लाख रुपैयाँ नगद भेटिएको छ।
खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको आइतबार राति हत्या गरिएको थियो। स्थानीयले सोबार बिहान बारीमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमा १५ तोला सुन र नगद ३ लाख रुपैयाँ भेटेको हो।
५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत घटनास्थल पुगेको छ।
हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ। उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएका 'केही संकेत'अनुसार आर्थिक कारणले एकै परिवारका ६ जनाको हत्या भएको आशंका समेत गरेको छ।
घटनास्थल पुगेको प्रहरीको अनुसन्धान टोलीका एक सदस्यले कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने 'संकेत' देखिएको जानकारी दिएका थिए।
अनुसन्धानका क्रममा घटनास्थलबाट १५ तोला सुन र ३ लाख नगद भेटिएपछि हत्याको पछाडि आर्थिक कारण जोडिएको विषयमा समेत 'गहन अनुसन्धान' थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।