विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा अडिग रहेको बताएका छन्।
शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबमा नेपालले नयाँ अभ्यास सुरु गरेको पनि बताए। नेपाल भारतबीच सन् १९५० मा भएको सन्धिको प्रसंग कोट्याउँदै प्रधानमन्त्रीले राष्ट्रियता, अखण्डता, स्वाधीनता र स्वाभिमानको विषयमा जोड दिए।
‘१९५० को सन्धिको उच्चारणै गर्न हुन्न भन्ने थियो’, उनले भने, ‘विज्ञ समूहले काम गरिरहेको छ, अब केही महिनाभित्रै त्यसको पनि अद्यावधिक हुन्छ।’
उनले भारत लगायत अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा सरकारले अधिकतम प्रयास गरिरहेको बताए। आफू भारत भ्रमणबाट फर्केपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल भ्रमणमा आएको बताउँदै भ्रमणले दुई देशबीच अझै सुमधुर सम्बन्ध स्थापित भएको बताए।
‘सीमामा बाढीका कारण उत्पन्न समस्या, सीमा विवादका समस्या लगायतका विषय समाधान हुन्छन्’, उनले भने–‘सडक, बाटो र बाँधका नाममा उत्पन्न हुने सबै समस्या समाधान हुन्छन्।’
भारतसँगको सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको विषयलाई थप पुष्टि गर्दै उनले थपे, ‘विराटनगरको अस्थायी कार्यालय भारतले हटाउने निर्णय गरेको छ।’ उनले एकाध स्थानीय घटनालाई बढाइँचढाइँ गरी अन्तर्राष्ट्रिय सम्बन्धमा नै खलल पुगे झैं प्रचार गर्नु उपयुक्त नहुने भन्दै स्थानीय समस्यालाई स्थानीय स्तरबाटै समाधानको प्रयास गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले भने, ‘सरकारले केही गरेन भनेर उफ्रिँदैमा केही हुँदैन। सरकारले आफ्नो ठाउँबाट आफ्नो काम गरिरहेको छ।’
केही दिनभित्रै आफूले गर्न लागेको चीन भ्रमण पनि देशको हित, राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानभित्र रहेर सम्पन्न हुने ओलीको भनाइ थियो।
अधिकार बाँडफाँटलाई लडाइँको विषय नबनाऔं
प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँटको विषयलाई लडाइँको विषय नबनाउन प्रदेशसभालाई आग्रह गरे।
‘यो लडाइँ गर्ने विषय होइन’, उनले भने, ‘साधन, स्रोत र सामथ्र्यको सही ढंगले प्रयोग गर्ने विषय हो। त्यो हामी गर्छौं।’
उनले संविधान पनि काट्य विषय नभएको भन्दै जनताको आवश्यक्ता र विकासको आवश्यक्ताका आधारमा संशोधन गर्न सकिने बताए।
‘हामी देश र जनताका लागि काम गर्दैछौं, आफ्ना लागि होइन’, उनले भने, ‘त्यसैले अधिकार बाँडफाँटको विषयलाई लडाइँको विषय बनाउनु हुँदैन।’
सिके राउत र विप्लवलाई चुनौती
प्रधानमन्त्री ओलीले देश विखण्डन र हिंसाको विषय स्वीकार्य नहुने बताए।
‘नेपाल अक्षुण्ण, अखण्ड, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुक हो’, उनले भने, ‘जनतालाई अंगभंग पार्ने र मुलुक नै विखण्डन गर्ने कुरा सरकारलाई स्वीकार्य हुँदैन।’
देश र जनताको सुरक्षा सरकारको जिम्मेवारी भएको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने र देश टुक्र्याउने कुरा स्वीकार हुनै नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।