चितवन– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७५ आइतबार सर्वसम्मत अनुमोदन हुने बताएका छन्।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७५ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताएका हुन्।
उनले संसदमा मतदान हुँदा फौजदारी अभियोग लागेका सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने व्यवस्था राखिएको प्रष्ट पारे।
अध्यक्ष तिमिल्सिनाले भने, ‘जनताले चुनेको प्रतिनिधि, आफूले उन्मुक्ति लिएर कहीँ पाउँदैनन्, यो कुनै दुनियाँमा हुँदैन। नेपालमा यो पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत चुनिएका प्रतिनिधि अरुभन्दा माथि हुनै सक्दैनन्।’
राष्ट्रियसभा नियमावली २०७५ आइतबार राष्ट्रियसभामा पेश हुँदैछ भने आइतबारै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनसम्बन्धी संयुक्त नियमावली पनि पेशहुने कार्यसूची छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।