काठमाडौं- नेपाल टेलिकमले फाइभ जी सेवाको परीक्षण सम्पन्न गरी व्यावसायिक सञ्चालन गर्ने तयारी भइरहेको बताएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभ जी परीक्षण सम्पन्न गरी व्यावसायिक सञ्चालनको प्रक्रिया सुरु गर्ने जानकारी दिएका हुन्।
उनले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताए। हाल ९२ प्रतिशत स्थानीय तहमा फोर जी सेवाको पहुँच पुर्याइएको उनले बताए।
देशभर फाइबर बिच्छ्याउने कामलाई तीव्र रुपमा अगाडि बढाइएको उनले बताए। आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उनले स्पष्ट पारे।
प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने कुरा हल्ला मात्र भएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे। टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए। प्रबन्ध निर्देशक अधिकारीले भने, ‘कल ट्यापिङको उपकरण नै छैन। कल ट्यापिङ गर्ने उपकरण आयात गर्न दूरसञ्चार प्राधिकरणको अनुमति चाहिन्छ। हामी दूरसञ्चार सेवा प्रदायकले त्यो उपकरण किन्न पाइँदैन।’
उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पुर्याउने दायित्वको साथ काम गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।