काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छन्। औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उनले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताइन्।
निजामती कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगरपालिका-२ स्थित इन्द्रायणी पार्कमा आज वृक्षरोपण गरेपछि मन्त्री भुसालले भनिन्, 'विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ।'
औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भइ अप्रत्यासित विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ' देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ।'
सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जलधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उपत्यकाबासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताइन्। मन्त्री भुसालले भनिन्, 'भूक्षयपछि आएको बाढी र त्यसले पुर्याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री बेहोर्नुपरेको छ। मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पुर्याएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।