काठमाडौं– ३८ सय केजी सुन तस्करीका मुख्य लगानीकर्ता मानिएका एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा हानी केही नगद र पैसा बरामद गरेको छ। बिशेष छानबिन समितिले डिल्लिबजारस्थित उनको घरबाट ३० लाख नगद, १० तोला सुन र २ किलो चाँदी बरामद गरेको छ। त्यस्तै उनको घरमा रहेको एउटा गाडी पनि प्रहरीले बरामद गरेको छ।
सो घर दुई महिनादेखि बन्द थियो। प्रहरीले ताला फुटाएर घरमा छापा हानेको हो। अग्रवाल भारतमा रहेको प्रहरी अनुमान छ।
उनी २०७० सालमा पनि ३५ किलो सुनसहित पक्राउ परेका थिए। त्यसबेला अदालतबाट उनी छुटेका थिए।
सुन तस्करीको घरमा धेरै सुन हुनसक्ने आशंका गरिएपनि जम्मा १० तोला मात्र बरामद भएको छानबिन समितिका एक अधिकारीले बताए।
छानबिन समितिको म्याद सकिन लागेकाले घरमा छापा हानी थप प्रमाणहरु संकलन गरेको हो। अग्रवालविरुद्ध सम्पती शुद्धिकरण मुद्दामा पनि कारबाही गर्न लागिएको छ।
उनको घरमा सुन राख्ने डिब्बा तथा सुन लुकाउन मिल्ने गरी डिजाइन गरिएको ज्याकेट समेत बरामद भएको प्रहरीले जनाएको छ। सुन तस्करीका कारोबारसम्बन्धि केही कागजपत्र पनि बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।