काठमाडौं– सुन तस्करीका मुख्य लगानीकर्ता ठानिएका मोहन अग्रवाल (एमके) को घरमा छापा हानी प्रहरीले तस्करीका थप महत्वपूर्ण विवरणहरु बरामद गरेको छ। जसबाट तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको विशेष छानबिन समितिले जनाएको छ।
‘उनको घरबाट दर्जनौं बैंकका चेकबुकहरु बरामद भएका छन्,’ छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले नेपाल लाइभसँग भने, ‘कम्प्युटर र कागजपत्रहरु समेत बरामद भएको छ, जसबाट तस्करीका अन्य नाइकेहरुको संलग्नता खुल्ने अपेक्षा गरेका छौं।’
सहसचिव पौडेलका अनुसार ३० लाख रुपैयाँभन्दा धेरै नगद, केही थान सुनका बिस्कुट, सुनका गहना, एउटा गाडी अग्रवालको घरबाट बरामद भएको छ। अग्रवाल तस्करीका मुख्य लगानीकर्ता हुन्। भारतीय गिरोहसँग मिलेर उनले सुन तस्करीमा करोडौं लगानी गरेका थिए।
३८ सय केजी सुन तस्करीको अनुसन्धान सुरु भएलगत्तै अग्रवाल भारत भागेका थिए। उनको घरमा २ महिनादेखि ताला लागेको थियो। घरमा २ महिनायता प्रहरीले निगरानी गरे पनि उनी नआएपछि छापा हानिएको स्रोत बताउँछ।
अनुसन्धानको क्रममा विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा धेरै लगानी अग्रवालको हुने गरेको थियो। उनको गिरोहमा कोको थिए भन्ने कुरा उनको बैंकिङ कारोबार र कम्प्युटरमा रहेका विवरणबाट प्राप्त हुने छानबिन समितिको अपेक्षा छ। त्यसबाट ‘ठूला माछा’ भनिएका अन्य व्यक्तिहरु पक्राउ पर्ने सम्भावना रहेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ।
अग्रवाल चाँदी तस्करीमा समेत संलग्न
अग्रवालको घरबाट ठूलो मात्रामा चाँदीसमेत बरामद भएको सहसचिव पौडेलले बताए। 'चाँदीका ढिक्का, सिक्का, बिस्कुट बरामद भएको छ। एउटै ढिक्का डेढ केजीसम्मको बरामद भएकाले उनी चाँदीको तस्करीमा समेत संलग्न रहेको खुलेको छ,' उनले भने।
उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएकाले नगद तथा गाडीहरु बरामद गरिएको समितिले जनाएको छ।
समितिले सो प्रकरणमा अन्तिम चरणको अनुसन्धान गरिरहेको छ। अग्रवालबाट बरामद कागजपत्रबाट गिरोहका माथिल्लो तहका व्यक्तिहरु संलग्न हुन सक्ने समितिका अधिकारीहरु बताउँछन्।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूहरु तस्करीमा संलग्न ‘ठूला माछा’को नजिक पुगेको बताएका थिए। स्रोतका अनुसार तस्करी गिरोहमा केही अवकाशप्राप्त प्रहरीको समेत ‘लिंक’ भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।