काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख र उपसभामुखमध्ये एक पद तत्काल छोड्न सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (ने क पा ) सँग माग गरेको छ।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोड्न माग गरे।
शुक्रबार प्रतिनिधिसभा नियमावली पारित गरेलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस सम्बन्धमा प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीले छिट्टै प्रश्न उठाउने पनि स्पष्ट पारे। संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन नपाउने महामन्त्री कोइरालाको तर्क छ।
तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए।
दुई दल एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेपछि ती दुई पदमध्ये एक पद छोडनुपर्ने संवैधानिक व्यवस्था रहेको कांग्रेसको दाबी छ। यता, सत्तारुढ (ने क पा) ले भने सभामुख महरा र उपसभामुख तुम्बाहाम्फे दलको सदस्य नरहेकाले उनीहरुले पद छोडिरहन नपर्ने जवाफ दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।