काठमाडौं– गृह मन्त्रालयले सुरक्षाका नाममा दुरुपयोग भएका प्रहरीलाई फिर्ता बोलाउने अभियान सफल हुन सकेको छैन। नेपाल प्रहरीकै पूर्व अधिकारीहरुले प्रहरी जनशक्तिको दुरुपयोग गरिरहेका छन्।
पूर्व एआईजीहरुले तीन जनासम्म प्रहरी घरमा राखेको विवरण प्राप्त भएको छ। पूर्व एआईजी कल्याण तिमल्सिना, बमबहादुर भण्डारी, मधु पुडासैनी लगायतले प्रहरीको दुरुपयोग गर्दै आएका छन्।
तिमिल्सनाले जवान गोपी तामाङ तथा प्रहरी परिचरद्वय ओमबहादुर कुँवर र हेमबहादुर भुजेल घरमा राखेका छन्।
त्यस्तै बमबहादुर भण्डारीको घरमा प्रहरी जवान संजय यादब दुई परिचर कार्यरत छन्।
मधु पुडासैनीले पनि तीन जना प्रहरी घरमा राखेका छन्। पूर्व डिआईजी सुरेन्द्र पालले समेत नियमविपरीत एक प्रहरीलाई आफ्नो घरमा लगाएका छन्।
पूर्व आईजिपी र एआईजीले पिएसआको सुविधा पाउने प्रावधान छ। पूर्व आईजिपीलाई तीन जनासम्म तथा एआईजीले १ जनासम्म पिएसआको सुविधा पाएँछन्।
तर, धेरैले त्यसभन्दा धेरै प्रहरी लिदै आएका छन्। सुरक्षाका नाममा त्यस्ता प्रहरीलाई उनीहरुले घरको काममा लगाउने गरेका छन्।
गृहले केही नेता र प्रहरीको घरमा कार्यरत प्रहरीलाई फिर्ता बोलाए पनि पहुँचवाला व्यक्तिहरुको घरबाट फर्काउन सकेको छैन। विभिन्न कार्यालयमा कार्यरत रहेको रेकर्ड राखेर उनीहरुलाई पूर्व हाकिम तथा नेताको घरमा काम लगाउने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।