फाइल तस्वीर
काठमाडौ– उपत्यकाका विभिन्न स्थानीय तहले भौतिक रुपमा विद्यालय सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन्।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बुधबार सम्पन्न बैठकले स्थानीय तहले जोखिमको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने निर्णय गरेको थियो। स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै स्थानीय तहहरुले गृहकार्य थालेका हुन्।
आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्न सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले अझै एक /दुई दिन कोरोनाको जोखिमको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गर्न सक्ने सकिने बताए।
महानगरपालिकासँग संस्थागत र सामुदायिक विद्यालयहरुले नियमित कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग राखिरहेको सुवेदीले बताए। विद्यालय सञ्चालन गर्ने अवस्था सृजना भएको खण्डमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ। महानगरले त्यसको नियमित अनुगमन गर्ने उनले बताए।
भक्तपुर नगरपालिकाले पनि विद्यालय सञ्चालनका लागि गृहकार्य थालेको जनाएको छ।
लतिलपुर महानगरपालिकाले पनि विद्यालय सञ्चालन कसरी गर्ने भन्ने विषयमा महानगरभित्रका विद्यालयहसँग राय सुझाव संकलन गरेको जनाएको छ। विभिन्न विद्यालयबाट प्राप्त रायका आधारमा निर्णय गर्ने महानगरले जनाएको छ।
उपत्यकाका केही स्थानीय तहले भने यसअघि नै भौतिक रुपमा कक्षा सञ्चालन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।