हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारित गरेर राजनीतिलाई अपराधीकरणतर्फ उन्मुख गराइएको बताएका छन्।
फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउँदै अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने र अपराधीहरु राजनीतिमा क्रियाशील हुने भएकोले देश अराजकतातर्फ धकेलिने बताए।
प्रतिनिधिसभाको आजको बैठकले बहुमतबाट संसद्को नियमावली पारित गरेको थियो। पारित नियमावलीअनुसार अब फाैजदारी अभियाेग लागेका सांसद पुर्पक्षका लागि थुनामा रहे पनि निलम्वन हुनेछैनन् तर, सांसद्काे हैसियतबाट कुनै काम गर्न भने पाउने छैनन्।
अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने औंल्याए। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश नं ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाको अबको बाटो भनेको संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सक्रियतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।