काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पेमार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेन्ट कार्यक्रमको सुरुवात गर्दै महाशाखाले अब ट्राफिक जरिवाना क्यूआर पेमार्फत् तिर्न सक्ने जनाएको हो।
महाशाखाले भोलि (शुक्रबार) देखि लागू हुने गरी कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी जनक भट्टराईले बताए।
उनका अनुसार आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ। प्रमुख भट्टराईले ट्राफिक प्रहरीले अब कारबाही गर्दा डकुमेन्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताए।
एसएसपी भट्टराईले केही दिनका लागि ग्लोबल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए।
उनले गत वर्षमा अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउँदा २ वटा वालेटबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था बनाएर सुरु गरेको स्मरण गर्दै पछि यसको व्यापकता ६०/७० को हाराहारीमा पुगेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।