धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार भारतप्रति लम्पसार भएको आरोप लगाएका छन्। ‘राष्ट्रवादी कुरा गर्ने तर, भारतसँग जी हजुरी गरेर सारा भारतलाई रिझाउने काम गर्या छ,’ शुक्रबार धनगढीमा नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि कैलालीको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले भने, ‘राष्ट्रवादी होइन लम्पसारवाद हो भन्ने गरेको छु मैले।’
उनले संविधानमा कम्युनिस्टले जबरजस्ती आफ्नो विचारहरु राख्ने प्रयास गरिरहेको आरोप लगाए।
कम्युनिस्टले प्रजातन्त्रलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउँदै उनले भने, ‘कुनै पनि बहानामा प्रजातन्त्रलाई कमजोर हुन नदिन कांग्रेसले कडा प्रतिपक्षी भएर काम गर्नेछ।’
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारले धनगढीसँग जोडिएको भारतीय नाका गौरीफन्टालई बन्द गराउने षड्यन्त्र गरिरहेको बताए। ‘गौरीफन्टा नाका मैले खोल्ने भारतसँग सहमति गरेको थिएँ, अहिले बन्द गर्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘नाका बन्द भए कहाँबाट सामान ल्याउने?'
आफूले गरिबहरुलाई लक्षित गरेर वृद्धभत्ता ६५ वर्षमै दिने घोषणा गरे पनि वर्तमान सरकारले खारेज गरेकोमा उनले असन्तुष्टि जनाए।
नेपाली कांग्रेसलाई अन्तरघातविहीन पार्टी बनाउने भन्दै देउवाले अन्तरघातीलाई कारबाही गर्ने र पार्टीलाई पुरानै अवस्था फर्काउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।