काठमाडौं– दाङमा खोलाले जिप बगाउँदा चार महिलाको मृत्यु भएको छ। नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको जिप घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले गाडी करिब डेढ किलोमिटर टाढा फेला पारेको थियो।
जिपमा सवारमध्ये घोराही–१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही–१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमा शव फेला परेको थियो।
सोही घटनामा घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो। बेपत्ता भएकाको शव प्रहरीले आज बिहान घोराही–३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए।
घाइते अवस्थामा फेला पारेका गाडी चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।