काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंलाई लक्षित गरी तीन हजार खसीबोका तथा च्यांग्रा खरिद गर्ने तयारी गरेको छ।
चाडपर्वका अवसरमा मासुको खपत बढी भई निजी क्षेत्रबाट मनपरी मूल्य लिएर उपभोक्ता ठगिने गरेको भन्दै कम्पनीले बजार मूल्य नियन्त्रणका लागि खसीबोका खरिद गर्न लागेको जनाएको छ।
कम्पनीले दसैंका लागि १६ सय खसीबोका र १४ सय च्यांग्रा ल्याउने तयारी गरेको छ। यसका लागि ६ करोड रुपैयाँ छुट्याइएको कम्पनीले जनाएको छ। कम्पनीले हरेक वर्ष दसैंका अवसरमा खसीबोका तथा च्यांग्रा खरिद गरी उपभोक्तालाई सहुलियतमा विक्री गर्दै आएको छ।
कम्पनीले विगतका वर्षहरुमा दाङ, हेटौंडा, नेपालगञ्जलगायत स्थानबाट खसीबोका ल्याउने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।