काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको समबन्धमा सर्वोच्च अदालतको आदेशानुसार दोषीउपर कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाउन पत्र लेखेको छ। मृतक अधिकारीको हत्यामा संलग्नहरुलाई कारबाही माग गर्दै मृतकको आमा गंगामाया अधिकारीले वीर अस्पतालमा अनसन थालेको र उनको स्वास्थ्य अवस्था जटिल भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर घटनामा संलग्न भनी सर्वोच्चले आदेश गरेका छविलाल पौडेललाई पक्राउ गर्न भनेको हो।
सर्वोच्चले २०७२ पुस ६ गते धरौटीमा छाड्ने तत्कालीन पुनरावेदन अदालत हेटौंटाको आदेश उल्ट्याउँदै पौडेललाई पक्राउ गरी थुनामा राख्न भनेको थियो। तर उक्त आदेश भएको २ वर्ष पूरा हुँदासमेत उनी पक्राउ नपरेपछि जेठ १५ गतेदेखि गंगामायाले वीर अस्पतालमा अनसन थालेकी छन्। अनसनको १० दिन पुगिसक्दा समेत सरकारले सुनुवाइ नगरेको भन्दै आयोगले पत्र लेखेर तीन दिनभित्र पौडेललाई पक्राउ गर्न निर्देशन दिएको हो।
अधिकारीको जीवनरक्षा गर्दै आरोपित व्यक्तिहरुलाई कानुनी कारबाही गर्ने सम्बन्धमा भएको प्रगतिबारे जानकारी गराउन पनि आयोगले भनेको छ। आयोगले त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत पत्र लेखेको छ।
पत्रमा पटकपटकको अनसनका कारण गंगामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएको उल्लेख छ। उनको स्वास्थ्य अवस्था बुझ्न आयोगका सदस्यहरु प्रकाश वस्ती र गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोली वीर अस्पतलमा पुगेको थियो।
अनुगमनपछि आयोगले जारी गरेको विज्ञप्तिमा गंगामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देखिएको, शरीरका विभिन्न भागहरु सुन्निएको तथा एउटा खुट्टा नचल्ने अवस्थामा भएको उल्लेख छ।
द्वन्द्वकालमा मामाघर चितवन आएको समयमा कृष्ण अधिकारीको अपहरण गरी तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो। उनका बुबा नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भइसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।