काठमाडौं- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको छ। द्विपक्षीय व्यापार विस्तार एवं संयुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवर्द्धनमा दुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड छ।
नेपालका लागि यूएईका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो।
दुवै मुलुकबीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा रह्यो। सन् २०१९/२० मा करिब १८ अर्ब र २०१८/१९ मा ३५ अर्ब रुपैयाँको व्यापार घाटा थियो।
नेपालले तयारी पोसाक, हाते गलैँचा तथा हस्तकलाका सामानहरू, मुसुरोका दाल लगायतका सामग्री निर्यात गर्दै आएको छ भने सुन तथा चाँदी, खनिज तेल र यससँग सम्बन्धित अन्य उत्पादनहरू, प्लास्टिक तथा प्लास्टकजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ। उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, ऊर्जा, आईटी, उत्पादनमूलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन्। व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो।
नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक यूएईतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइएको महासंघले जनाएको छ। हवाईमार्गबाट निकै नजिक रहेका नेपाल र यूएईबीच पर्यटन, सहकार्यको अर्को कडी हुनसक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भयो। यसका लागि दुवै देशका सरकार-सरकार र निजी क्षेत्र-निजी क्षेत्रबीचको समन्वय र सहकार्यलाई अझ घनीभूत ढंगबाट लैजानुपर्नेमा भेटवार्तामा जोड दिइयो।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भाव्यतालाई सफल पार्न आर्थिक कूटनीतिको सहयोगको अपेक्षा गरे। यूएईसँग आर्थिक सम्बन्ध मजबुत् बनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न राजदूतलाई आग्रह गरे।
राजदूत सइद हमदान अल नाकवीले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।